काभ्रे, २० वैशाख– काभ्रेमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक भीमकिरण बोगटीका अनुसार काभ्रे बेखसिम्ले–७ की २१ वर्षीया स्वस्थानी केसी र सिन्धुपाल्चोक सल्ले–८ की ११ बर्षीया रेजिना धामीको सनाखत भएको हो ।
दुर्घटनामा अरु ३५ यात्रु घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । काठमाण्डुबाट तातोपानी जाँदै गरेको बा ३ ख २०३७ नम्बरको बस अरनीको राजमार्गको ५० किलो भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक भीमकिरण बोगटीले बस सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।