रोजगारीका लागि भारत गएका ४७ बेपत्ता

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ६:४९ मा प्रकाशित

कञ्चनपुर, १९ वैशाख – रोजगारीका लागि भारत गएका कञ्चनपुरका विभिन्न पाँच गाविसका ४७ जना बेपत्ता भएका छन् ।

रोजगारीका लागि त्यहाँ गएका उनीहरु झन्डै १५–२० वर्षदेखि परिवारको सम्पर्कमा समेत छैनन् । भारत गएका नेपाली नागरिकहरुको पक्षमा काम गर्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले जिल्लाका पाँच गाविसका परिवारजनसित भेटेर एक महिलासहित ४६ पुरुष परिवारको सम्पर्क बाहिर रहेको तथ्य फेला पारेको हो ।

कञ्चनपुर जिल्लाबाट यसभन्दा बढी व्यक्ति हराएको हुन सक्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले जनाएको छ । समाजका सचिव देवराज भट्टले सुरक्षित आवागमनलगायत भारतमा रोजगारी गरिरहेको नेपालीको अवस्थाबारे अध्ययन हुनुपर्ने बताए ।

कञ्चनपुरका हराएकाहरुको सूची तयारी पारी खोजतलासका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने सचिव भट्टले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले भारतमा हराएका नेपालीको खोजीका लागि दुवै देशका राजदूतमार्फत पहल हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us