विवादका कारण एमाओवादीको बन्दसत्र रोकियो

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ६:२७ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १९ वैशाख – प्रतिनिधि विवाद समाधान हुन नसकेपछि विराटगनरमा जारी एकीकृत नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको बन्द सत्र सुरु हुन सकेको छैन ।

देशभरबाट सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरु मध्ये ६३ जिल्लामा कुनै विवाद देखिएको छैन ।

तर १२ जिल्लामा विभिन्न समस्या आएका कारण संगठन विभागले १ बजेसम्म विवाद समाधानकालागि समय मागेपछि बन्दसत्र ढिलो भएको हो ।

विहान ९ बजेदेखि बसेको केन्द्रीय समितिको बैठकले विवाद अन्त्य गर्ने प्रयत्न गरेको भएपनि प्रतिनिधिको बिषय भने टुंग्याउन सकेन । कतिपय जिल्लाले प्रतिनिधिको प्रवेश शूल्क नबुझाएका कारण पनि समस्या आएको छ ।

एमाओवादी सम्मेलनमा सहभागि हुने प्रतिनिधिले प्रतिव्यक्ति एक हजार रुपैया प्रवेश शूल्क बुझाउनु पर्ने छ ।

एमाओवादी नेता गोपाल किराँतीले एक बजेबाट बन्द सत्र सुरु हुने निर्णय भएको बताए । बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गर्नुहुने छ भने पूर्व महासचिव तथा संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटीले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने किराँतीले जानकारी दिए ।

विहान ८ बजेदेखि बन्द सत्र सुरु हुने भनिए पनि बन्द सत्र अघि नबढेपछि बिहानैदेखि विरेन्द्र सभागृह आइपुगेका प्रतिनिधिहरु अन्योलमा परेका छन् । सम्मेलनमा चुस्त व्यवस्थापन हुन नसक्दा अहिलेसम्म प्रतिनिधिहरुले खाना समेत खान पाएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us