
बाँके, १९ वैशाख – होलिया गाविसको चौफेरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कृषि चौफेरीको भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय नै बन्द भएको छ ।
विद्यालयको भवन प्रहरीले कब्जा गरेपछि विद्यार्थी पढ्न नपाएर मजदुरी गर्न जान थालेका छन् । प्रहरीले अस्थायी पोस्ट खडा गरेपछि विद्यालय झैझगडा मिलाउने र मानिसलाई नियन्त्रणमा लिई थुन्ने थुनुवा बनेको छ ।
बाढी र आगलागीबाट प्रभावित सो क्षेत्रको चौफेरीका स्थानीयवासीको बालबालिकाले सहजरुपमा शिक्षण
लिन पाउन भन्ने उद्देश्यले २०६४ सालमा दातृ निकायको सहयोगमा दुई कोठे भवन निर्माण गरिएको थियो । पछिल्लो समयमा सो विद्यालयमा अध्ययन गर्ने २०० जना विद्यार्थी रहेका थिए भने एक बर्षदेखि चार÷पाँच जना विद्यार्थी साताको एक दिन विद्यालयमा जाने गरेपनि बस्ने कोठा नभएपछि विद्यार्थीहरू फर्किने गरेका छन् । स्थानीय बासिन्दाले तत्काल अस्थायी प्रहरी पोस्ट विद्यालयबाट हटाई अन्यत्र सार्नुपर्ने र विद्यालय शान्ति क्षेत्र घोषणा गरी सहजरुपमा पढ्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीले सरकारी विद्यालय कब्जा गरेपछि विद्यालयका शिक्षकले घरमै बसेर तलब खाइरहेका छन् ।