काठमाण्डु, १८ वैशाख –नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघलाई ट्रेड युनियन बनाउनुपर्ने बताएको छ ।
पत्रकार महासंघका उम्मेदवारको घोषणासभामा प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले पत्रकार महासंघलाई नेता बनाउने भन्दा पनि श्रमजिवि पत्रकारको हक अधिकारबारे आवाज उठाउन ट्रेड युनियन बनाउनुपर्ने बताएका हुन्।
सभामा पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि पत्रकार महासंघको बर्तमान कार्य समितिले काम गर्न नसकेको आरोप लगाए ।
वर्तमान कार्यसमिति जस्तो अवको कार्यसमिति बन्न नहुने बताउँदै लोकतान्त्रिक पक्षधर पत्रकारको टिमलाई सक्रिय सहयोग गर्न विरहीले आग्रह गर्नुभयो ।
युनियनका तर्फबाट अध्यक्षका उम्मेदवार पोषण केसीले पत्रकार महासंघलाई राजनीतिक दलको भातृ संस्था बनाउने षडयन्त्र भइरहेको भन्दै सचेत रहन सबै लाकतन्त्रबादी पत्रकारलाई आग्रह गरे ।
पत्रकार महासंघ श्रमजिवि पत्रकारको पक्षमा हुनुपर्ने भन्दै कसीले बामपन्थी गठबन्धनका नाममा पत्रकार महासंघलाई राजनीतिक दलको भातृ संगठन बनाउन लागिएको आरोप लगाए।
केशीको नेतृत्वमा युनियनले खुल्ला उपाध्यक्षमा रामजी दाहाल र समावेशी उपाध्यक्षमा अनिता विन्दुलाई उम्मेदवार बनाएको छ ।
युनियनले महासचिवमा जगत नेपाल र सचिवतर्फ खुल्लामा दिलिप थापामगर, एशोसिएन सचिवमा प्रकाश थापा, महिला सचिवमा बसुन्धरा गौतम र समावेशी सचिवमा गोविन्द परियारलाई उम्मेदवार बनाएको छ ।
यस्तै युनियनले कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार बनाएको छ ।युनियनले खुल्लातर्फको केन्द्रीय सदस्यमा माधव दुलाल, विजय अधिकारी, दामोदर भण्डारी, त्रिभुवनचन्द्र वाग्ले र दीर्घ उपाध्यायलाई उम्मेदवार बनाएको छ ।
यस्तै प्रतिष्ठानतर्फ नारायण अर्याल र सुवोध गौतमलाई उम्मेदवार बनाएको छ । यसअघि प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघले डाक्टर महेन्द्र विष्टको नेतृत्वमा उम्मेदवार घोषणा गरिसकेका छन् ।