एमाओवादी राष्ट्रिय सम्मेलन आज

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ३:३२ मा प्रकाशित

विराटनगर, १८ वैशाख– एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि मोरङको विराटनगरमा सुरु हुँदैछ ।
maoist flagसम्मेलनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अधिकांश नेता विराटनगर पुगेका छन् । सम्मेलनको सहिद रंगशालामा अध्यक्ष प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी देशभरबाट १५ सय बढी सहभागी हुने बताइएको छ । प्रतिनिधिहरु विराटनगर पुग्ने क्रम जारी छ । सम्मेलन सफल पार्न ५ सय पर्यवेक्षक खटाइएको नेता वर्षमान पुनले जानकारी दिए । सम्मेलन कम्तिमा पाँच दिनसम्म चल्ने अनुमान गरिएको छ ।

सम्मेलनका लागि विराटनगरका १४ स्थानमा स्वागतद्वार बनाइएका छन् । झण्डा र ब्यानरले सम्मेलन उदघाटन स्थल र नगरलाई दुलही झैं सजाइएको छ ।
प्रतिनिधिलाई विराटनगरदेखि इटहरीसम्मका होटल र पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको मुल व्यवस्थापन समितिका संयोजक एवम् कोचिला राज्य समिति संयोजक गोपाल किराँतीले बताए ।

विवादका कारण आधा दर्जन जिल्लाका प्रतिनिधि चयन हुन सकेका छैनन् । केही जिल्लामा अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई पक्षले आ–आफ्ना प्रतिनिधि छानेका छन् । दुवैथरि प्रतिनिधि विराटनगर पुगेका छन् ।

विवाद मिलाउन सम्मेलन उदघाटनपछि आज साँझ शीर्ष नेतृत्वतहमा छलफल हुने किरातीले बताए । माओवादीले सम्मेलनबाट हेटौंडा महाधिवेशनको कार्यदिशा परिमार्जन गर्नुका साथै संगठन सुदृढीकरणको कार्ययोजना ल्याउने बताएको छ ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित साना बामपन्थी दलसँग एकता प्रस्ताव पारित गर्ने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us