विराटनगर, १७ वैशाख – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले पार्टीलाई नयाँ गति प्रदान गर्ने तथा नयाँ सङ्गठनको संरचनाको विकास गर्नेे बताएका छन् ।
विराटनगरमा भोलिदेखि सुरु हुन लागेको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी गराउन आयोजक समितिले विराटनगरमा आज साँझ आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष दाहालले सम्मेलनले पार्टीलाई नयाँ कार्यदिशा प्रदान गर्नेछ भने ।
अध्यक्ष दाहालले १५ महिनाअघि हेटाैँडामा भएको पार्टीको महाधिवेशनका कार्यदिशालाई परिमार्जन गर्दै पार्टीलाई नयाँ संरचनाबाट अगाडि बढाउन सम्मेलनको आयोजना गरिएको जानकारी दिए । उनले सम्मेलनमा एउटै कम्युनिष्ट केन्द्र बनाउन आफूले तयार पारेको दस्तावेज प्रस्तुत गर्ने जानकारी दिँदै त्यसलाई व्यापक छलफल गरी पारित हुने विश्वाससमेत व्यक्त गरे ।
अध्यक्ष दाहालले अहिलेको आवश्यकता भनेको जनताको परिवर्तनको आकाङ्क्षाअनुसार संविधान निर्माण गर्नु भएकाले त्यसतर्फ आफ्नो पार्टी प्रतिबद्ध छ भने ।
राष्ट्रिय सम्मेलनको तयारी पूरा
पार्टीलाई सङ्गठित एवम् सुदृढ बनाउन विराटनगरमा भोलिदेखि सुरु हुन गइरहेको एकीकृत माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । पाँच दिनसम्म चल्ने सो सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब एक हजार १०० को सहभागिता रहने आयोजक समितिका सदस्य गोपाल किरातीले जानकारी दिए ।
सम्मेलनमा सहभागी हुन पार्टीका शीर्ष नेता विराटनगर आउने क्रम जारी छ भने ७५ वटै जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षक भोलि दिउँसो १ बजेसम्म आइपुग्नु हुने जनाइएको छ ।