काठमाण्डु, १७ वैशाख – नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि आज बैंकक लगिएको छ ।
टाउको दुख्ने र बान्ता हुने समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा यही वैशाख १४ गतेदेखि उपचार गराइरहनुभएका नेता ओलीको थप उपचारका लागि एयर एम्बुलेन्समार्फत बैंककस्थित ब्रुमरुम गार्ड अस्पताल लगिएको हो ।
उपचारका लागि बैंकक जानुअघि त्रिवि शिक्षण अस्पतालमा नेता ओलीको उपचारमा संलग्न चिकित्सक डा.शशी शर्माले मिनिजाइटिक्स भएको बताए ।
परिवारको आग्रहमा थप उपचारका लागि बैंकक पठाइएको र कम्तिमा दुई हप्ता उपचार गर्नुपर्ने उल्लेख गर्दै डा.शर्माले रोगको अवस्थाअनुसार थप समय पनि लाग्नसक्छ भने ।
पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले नेता ओलीको उपचारमा त्रिवि शिक्षण अस्पताल सक्षम रहेपनि बिरामी भेट्न आउने कार्यकर्ताको भीडका कारण अन्य सङ्क्रमण हुने खतरा भएकाले त्यसबाट बचाउनका लागि प्रधानमन्त्री सुशील कोइरालाको सल्लाहअनुसार बैंककमा उपचारका लागि लगेको बताए ।
नेता ओली दुई महिनासम्म भारतको म्याक्स अस्पतालमा उपचार गरेर यही वैशाख ३ गते नेपाल फर्केका थिए । यही वैशाख १४ गते नेता ओलीलाई पुनः टाउको दुख्ने र बान्ता हुने भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।