काठमाण्डु, १७ वैशाख – राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान निमार्णमा रचनात्मक र सकरात्मक भूमिका निर्वाह गर्न प्रेस जगतसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले एक वर्ष भित्र लोकतान्त्रिक संविधान निमार्णमा प्रेस जगतले रचनात्मक र सकरात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
संविधान निमार्णमा पत्रकार। महासंघले पनि अभियान नै चलाएको भन्दै उनले खुसी व्यक्त गरे । दलहरुले एक वर्ष भित्रमा संविधान बनाउने प्रतिबद्धता जनाएको भन्दै उनले त्यसमा ढिलाई गर्न नहुने बताए । पछिल्लो समय संघीयता र शासकिय स्वरुपमा विवाद देखिएको भन्दै उनले देशको परिस्थिती र सुहाँउदो अनुसार बनाउनुपर्नेमा जोड दिए ।
यसमा पनि पत्रकार जगतले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । साथै उनले चुरे क्षेत्रबाट दिनहुँ बालुवा, ढुंगा, गिट्टी भारततर्फ निकाशी भएको भन्दै चिन्ता व्यक्त गरे । उनले यस प्रकारको कामले तराई मरुभूमिमा परिणत भइरहेको बताए । सरकारको सहयोगमा महासंघले बनाएको भवन ४ करोड २ लाखमा तयार भएको हो ।