गोरखा, १७ वैशाख । एकीकृत नेकपा (माओवादी)को जिल्ला सम्मेलनले आगामी दुई वर्षका लागि अमर तमुलाई अध्यक्ष चयन गरेको छ ।
दुई दिनसम्म गोरखामा चलेको सम्मेलनमा ५१ जना जिल्ला सदस्यका लागि ३८ जना निर्वाचनबाट चुनिएका हुन् । बाँकी १३ जना मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तमुले बताउनुभयो ।
पार्टी अध्यक्ष दाहाल र भट्टराई पक्षका नेता कार्यकर्ता प्यानल बनाएर चुनावमा खटिएका छन् । निर्वाचनमा भट्टराई पक्षले चार जिल्ला सदस्य जितेको छ । बाँकी ३६ सदस्य दाहाल पक्षले जितेको छ ।
यसैगरी राष्ट्रिय प्रतिनिधिका लागि भएको निर्वाचनमा भट्टराई पक्षका तीन जनाले जितेका छन् भने दाहाल पक्षका १३ जना विजयी भएका छन् । कुल २२ प्रतिनिधिका लागि ६ जना निर्विरोध भई १६ जनाका लागि निर्वाचन भएको थियो ।
बहुपदीय प्रणालीमा जान लागेको एमाओवादीमा पहिलोपटक निर्वाचन प्रणालीबाट नेताहरुको छनोट गरिएको हो । विजयी सदस्यमध्ये ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले तमुलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।