काठमाण्डु, १६ वैशाख – नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि प्रेस युनियनले उम्मेदवारहरुको टुंगो लगाएकाे छ । यस अघि नै अध्यक्षको रुपमा पोषण केसीको उम्मेदवारी फाईनल गरिसेकेको युनियनले मंगलबार अन्य पदाधिकारीको उम्मेदवारी फाईनल गरेको हो ।
मंगलबार बसेको युनियनको बैठकले उपाध्यक्षमा रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता विन्दु, महासचिवमा जगत नेपालको उम्मेदवारी फाईनल गरेको छ । त्यसैगरी सचिवमा दिलिप थापा, प्रकाश थापा(एसोसियट), गोविन्द परियार(समावेशी) को फाईनल गरेको छ ।
महिला सचिवमा भने अँझै फाईनल हुन सकेको छैन । पत्रकार महासंघले नयाँ बिधान लागु गर्ने बिषयमा शनिबार सहमति जुटाएपछि प्रेस युनियनले नयाँ बिधान अनुरुप उम्मेदवारी तय गरेको छ । अन्य सदस्यहरुका बिषयमा भने छलफल भैरहेको श्रोतले जनाएको छ । सम्पूर्ण सदस्यहरुको टुंगो लगाएपछि औपचारिकरुपमा उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने प्रेस युनियनको तयारी छ । नेपाल पत्रकार महासंघको महाधिवेशन यहि वैशाख २० र २१ गते काठमाडौंमा हुँदैछ ।