काठमाण्डु, १६ वैशाख – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठित उपसमितिले सरकासँग विभिन्न दल, समूह र सरोकार भएकाहरुसँग भएका सहमति तथा सम्झौताका बारेमा एउटा टुङ्गोमा पुग्ने निर्णय गरेको छ ।
सरकारले विभिन्न दल तथा समूहसँग भएका सहमति सम्झौता, छलफलका क्रममा रहेका विषयवस्तु तथा अन्य विषयको वर्गीकरण गरी ती संविधानका अन्तर्वस्तुसँग सम्बन्धित छन वा छैनन् भन्नेबारेमा यही वैशाख २१ गतेसम्ममा उपसमिति एउटा निष्कर्षमा पुग्नेछ ।
उपसमितिका संयोजक पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकपछि उपसमिति सदस्य रामकुमार राईले सरकार र विभिन्न राजनीतिक दल, द्वन्द्वरत पक्ष, सशस्त्र वा निःशस्त्र समूह, आदिवासी जनजातिसँग भएका सहमति संवैधानिक राजनीतिक संवाद सहमति समितिमा आएको हुनाले विषयगत रुपमा संविधानसभा र सरकारले सम्बोधन गर्ने विषयमा आज अध्ययन भएको जानकारी दिए ।