काठमाण्डु, १६ वैशाख – महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आजदेखि ‘बलात्कारविरुद्ध राष्ट्रिय अभियान’सुरु गरेको छ ।
अभियानअन्तर्गत बलात्कारसम्बन्धी हालको विभेदपूर्ण कानुनमा संशोधन गरी ३५ दिने हदम्यादको खारेज गरेर पीडितले जुनसुकै समय पनि उजुरी दिनसक्ने व्यवस्था तथा द्रुतन्याय प्रणाली (फास्ट ट्रयाक कोर्ट) चाँडो गठन गरी बलात्कारबाट प्रभावितहरुसँग सम्बन्धित सबै घटनाको प्रभावकारी फैसलाको माग गरिएको छ ।
त्यस्तै सोसम्बन्धी अनुसन्धान प्रक्रियालाई संवेदनशील र प्रभावकारी बनाउन नेपाल प्रहरीका लागि वैज्ञानिक पद्धतिको निर्देशिका निर्माण तथा द्वन्द्वकालमा भएका सबै यौन हिंसाको अनुसन्धानका लागि निष्पक्ष उच्चस्तरीय राष्ट्रिय समिति गठन लगायत माग गरिएको छ ।
यसैबीच सो सञ्जालले अभियानअन्तर्गत आज काठमाण्डुको भद्रकालीमा अनिश्चित धर्ना सुरु गरेको छ । वैशाख महिनाभर धर्ना जारी रहने र जेठ लागेपछि आमरण अनशन सुरु गरिने अभियानका अध्यक्ष डा रेणु राजभण्डारीले जानकारी दिए ।