काठमाण्डु, १६ वैशाख – काठमाण्डु महानगरपालिकाले नियमितरुपमा कर नतिर्ने करदाता व्यापारिक संस्थाबाट फोहोर सङ्कलन कार्य रोक्ने भएको छ ।
महानगरपालिकाभित्र रहेका ठूल्ठूला व्यापारिक कम्प्लेक्स र होटलले महानगरपालिकामा बुझाउनु पर्ने विभिन्न कर नबुझाएका कारण यही वैशाख १८ गतेदेखि ती संस्थाबाट निस्कने फोहोर सङ्कलन नगर्ने राजस्व महाशाखा प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिए ।
खिचापोखरीस्थित आरबी कम्प्लेक्स, सुन्धारास्थित काठमाण्डु मल, जमलस्थित सांस्कृतिक संस्थान, बानेश्वर प्लाजा, बानेश्वर डिपार्टमेन्टल स्टोर, ताम्राकार हाउस, रत्न प्लाजा, साझा भण्डार लि., पिपुल्स प्लाजा, त्रिपुरेश्वर प्लाजा, अल्फाबिटा हाउस, केएल टावर, काठमाडौँ विजनेश पार्क, जामे मार्केट, महालक्ष्मी प्लाजा र काठमाण्डु प्लाजालगायतका व्यापारिक कम्प्लेक्सबाट महानगरपालिकालाई बुझाउनुपर्ने आवश्यक कर नबुझाएका कारण ती स्थानबाट निस्कने फोहोर महानगरपालिकाले सङ्कलन नगर्ने महाशाखा प्रमुख काफ्लेले जानकारी दिए ।
यसैगरी होटल मल्ल, होटल रोयल सिङ्गे, सोल्टी, हायात रिजेन्सी, एभरेस्ट, ¥याडिसन, शङ्कर, माउन्टेन, ल्याण्ड मार्क, मार्कोपोलो, याक एण्ड यति, साङ्ग्रिला होटललगायतले पनि विभिन्न किसिमका कर नतिरेका कारण १८ गतेदेखि त्यहाँबाट पनि फोहोर सङ्कलन नगर्ने उनले बताए ।