भदौभित्रै संविधानको पहिलो मस्यौदा आउने

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ४:०२ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख – संवैधानिक राजनीति संवाद तथा सहमति समितिले भदौ महिनाभित्रै संविधानको पहिलो मस्यौदा ल्याउनेगरी कार्यतालिका पारित गरेको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले संविधानसभाका अन्तर्वस्तुमा सहमति कायम गर्दै भदौ महिनाभित्रै पहिलो मस्यौदा सार्वजनिक गर्ने कार्ययोजनासहितको कार्यतालिका पारित गरेको हो ।
संविधानसभा बाहिर रहेका दलहरूसगँसमेत सहमति गर्ने जिम्मा पाएको समितिले आगामी जेठ १५ गतेभित्र ती दलहरूसँग सहमति गर्ने समय निर्धारण गरेको छ ।
समितिको बैठकले ९ सदस्यीय उपसमिति पनि गठन गरेको छ । उपसमितिको संयोजकमा नेपाली काँग्र्रेसका सह–महामन्त्री तथा समितिका सदस्य पूर्णबहादुर खड्कालाई तोकिएको छ ।
समितिले विभिन्न समयमा नेपाल सरकारले गरेका सहमतिको अध्ययन गरी जेठ २ गतेभित्र प्रतिवेदन समितिसमक्ष बुझाउनेछ ।
उपसमितिका सदस्यहरूमा सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, दिलनाथ गिरी, लक्ष्मणलाल कर्ण, विश्वेन्द्र पासवान, रामकुमार राई र रुक्मिणी चौधरी रहेका छन् । उपसमितिले भोलिदेखि नै काम सुरु गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us