मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते २:२४ मा प्रकाशित

गुल्मी, १६ वैशाख – गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ ।

गौँडाकोटबाट तम्घास आउँदै गरेको लु .११.प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हुँदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो ।

म्यालपोखरी माध्यमिक विद्यालय गौँडाकोटका शिक्षक रहेका खत्री विद्यालयबाट घर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गुल्मी जुभुङ्ग–१ का दिनेश थापा घाइते भएका छन् ।

थापाले नजिकैबाट लिफ्ट मागेर चढेको र मोटरसाइकल तीव्र गतिमा रहेकाले नियन्त्रण गर्न नसकेर दुर्घटना भएको बताएका छन् । मृतकको सडकदेखि १० मिटर तल खसेर खाडलमा टाउको अड्किएको थियो भने मोटरसाइकल पछाडि बसेका घाइते सडकमै थिए ।

घाइते थापाको जिल्ला अस्पताल तम्घाँसमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us