अर्घाखाँची, १५ वैशाख – उपप्रधानमन्त्री वामदेव गौतमले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र दशवर्षे द्वन्द्वको घाउ मेटाउन सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्दै गृहमन्त्री गौतमले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र देशमा दिगो शान्ति स्थापना गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउनुपरेको बताउँदै एक वर्षभित्रमा संविधान जारी गर्ने सरकारको प्रमुख काम भएको बताए ।
वर्तमान सरकारले एक वर्षभित्र संविधान जारी गर्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, संविधान बन्नुअघि स्थानीय निकायको निर्वाचन गर्न र विकास निर्माणका काम अगाडि बढाउने कामलाई प्राथमिकतामा राखेको बताउँदै उनले लामो समयदेखि जननिर्वाचित प्रतिनिधि नहुँदा स्थानीय निकायमा जनताको काम राम्रोसँग अगाडि बढ्न नसकेको अवस्थामा जनतालाई शक्तिशाली बनाउने स्थानीय निकायको निर्वाचनको विरोध गर्नु उपयुक्त हुँदैन भने ।
उनले सरकार एक वर्षभित्रमा नेपाली जनताको संविधान निर्माण गर्न लागिपरेको र सबै राजनीतिक दललाई सहमतिमा ल्याएर काम अगाडि बढाइएको बताए ।