काठमाण्डु, १५ वैशाख– न्यायपरिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउँदै आएको नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणाा सार्वजनिक गर्दैछ ।
त्यसका लागि बिहान बारको बैठक बस्दैछ । गएराति अबेरसम्म बसेको बैठकले ठोस निष्कर्ष दिन नसकेपछि आज पुन: बैठक बस्न लागेको हो । बार पदाधिकारीले हिजो न्यायाधीश सिफारिस सम्बन्धमा धारणा बुझ्न केन्द्रीय सल्लाहकार समितिसँग समेत छलफल गरेको थियो ।
समितिले सिफारिस त्रुटिपूर्ण भन्दै त्यसलाई सच्याउनुपर्ने निष्कर्ष निकालेको थियो । समितिले निर्णय उल्ट्याउन संसदीय सुनुवाई विशेष समितिलाई दबाब दिन तथा निर्णय प्रक्रियामा सहभागी बारका दुई सदस्यलाई फिर्ता बोलाउन कार्यसमितिलाई सुझाव दिएको थियो ।
बारका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने र खेमनारायण ढुंगाना परिषद् सदस्य छन् । न्यायपरिषद्ले मंगलबार आठ न्यायाधीशको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रबाहेक अन्य ६ जना विवादित पुष्ठभूमिका छन् ।
खराब आचरण भएकालई न्यायाधीश सिफारिस गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।