काठमाण्डु, १४ वैशाख – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सञ्चारगृहमा दलित समावेशीकरणका लागि सञ्चार ऐनमा परिमार्जन गर्नुपर्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित पत्रकारको ज्ञापनपत्र मन्त्रालयमा आज बुझ्दै उनले सञ्चार क्षेत्रमा दलितलगायत जनजाति, मधेसी समुदायको समेत प्रतिनिधित्व अत्यन्त कम रहेकाले सञ्चार नीति परिमार्जन गरी सम्बोधन गर्नुपर्ने उल्लेख गरे । जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले उच्चस्तरीय समावेशी मिडिया आयोगले दिएको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्न माग गर्दै विभिन्न सरकारी सञ्चारमाध्यममा दलित समुदायको समावेशीकरणलाई नीतिगत रुपमा सुनिश्चित गराउनुपर्ने बताए ।