
गोरखा, १४ वैशाख – गोरखाको प्रसिद्ध मनकामना माईको मन्दिर धरापमा छ । मन्दिर जतिबेला पनि भत्कने सक्ने स्थितिमा छ । मन्दिर दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्केको भने मूल ढोका १४ सेन्टिमिटर ढल्केको छ । दैनिक ५ हजारदेखि १० हजार भक्तजन पुग्ने मन्दिर एक्कासी भत्किए के होला ? यस बिषयमा सम्बन्धितनिकायको ध्यान अझै जान सकेको छैन् । मन्दिर भत्किए एकै पटक १ सय ५० भन्दा बढीको ज्यान जान सक्ने खतरा छ ।
धराप कहिले देखि
मन्दिर धरापमा परेको ८० वर्ष अघि देखि नै हो । बिस १९९० सालको भुकम्पले मन्दिरमा क्षति पुर्याएको हो । त्यसपछि विस्तारै बिस्तारै झन् मन्दिर धरापमा पर्दै गएको हो । मनकामना मन्दिर जिर्णोद्धार समितिले मन्दिर बनाउनका लागि केहिले पुरातत्व विभाग त कहिले अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । ८० वर्ष देखि धरापमा भएपनि प्रसिद्धस्थल किन जिर्णोद्धार हुन सकेन त यसले गम्भिर आशंका उब्जाएको छ । बर्सेनि ढल्कने क्रम बढेपछि २०६४ सालमा तत्कालीन पर्यटन सचिव लीलामणि पौडेल नेतृत्वको टोलीले अनुगमन गरेको थियो । समितिले जग कमजोर भएको निष्र्कदै निकाल्दै एकरात स्थानीय होटलमा बसी लाखौं रकम रक्सि र मासुमा खर्च गरेको थियो ।
सरकारी सहयोग
मन्दिर जिर्णोद्धार गर्न भन्दै सरकारले अहिलेसम्म ४ करोड रकम दिएको छ । पहिले १ करोड र केही समय अघि ३ करोड आफुहरुले पाएको मनकामना मन्दिर जिर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले काठमाण्डू टुडेलाई जानकारी दिए ।
सरकारले पहिले दिएको १ करोडबाट ४० लाखको काठ र ६० लाखको सुन समितिले किनी लकरमा राखेको छ । काठमा कलात्मक बुदाँ कुत्ने काम भइरहेको छ । आगामी असार महिनाबाट मन्दिर जिर्णोद्धारको काम थालनी गर्ने सचिव श्रेष्ठले बताए ।
उनका अनुसार चाहिने १ लाख इट्टामा ४० हजार आइसकेको छ । मन्दिर जिर्णोद्धारका लागि पुरातात्विक बिभागले २०६६ सालमा साढे ८ करोड लाग्ने बताएको थियो । समितिका सचिव श्रेष्ठ भन्छन ६६ सालदेखि मन्दिर जिर्णोद्धार नहुँँदा महंगीका कारण अहिले कम्तिमा पनि १२ करोड लाग्ने भएको छ । सरकारले पछिल्लो समय दिएको ३ करोडले पनि समितिले सुन, काठ र अन्य सामाग्री किनेको छ ।
मन्दिर कसरी अडियो, प्राविधिक नै छक्क
पानी परेको बेला पुरै मन्दिर भित्र आहाल जस्तो हुने मूल पूजारी इन्सान थापामगर बताउँछन् । यस्तो धराप हुदाँ पनि मन्दिर कसरी अडेको भन्ने बिषयमा प्राबिधिकहरु नै छक्क पर्ने गरेको उनी सुनाउँछन् ।
त्यस्तै मन्दिर जिर्णोद्धार रातको समयमा गर्ने समितिको तयारी छ । हामी भक्तजनहरु समस्यामा पार्देनौ, रातको समयमा मन्दिर जिर्णोद्धार गर्छौ श्रेष्ठले भने – ‘हामी भक्तजनलाई जिर्णोद्धारको नाममा रोक्दैनौ’ । मन्दिरमा दैनिक ५ हजारदेखि १० हजार भक्तजन आउँछन् । आउनेमा ३० प्रतिशत भारतीय छन् ।
मनकामना दर्शन प्रालि पैसा कमाउन मात्र व्यस्त
मनकामना दर्शन प्रालिले अहिले सम्म मन्दिरका लागि केही पनि सहयोग नगरेको श्रेष्ठ बताउँछन् । मन्दिर दर्शनका लागि केवल कारको व्यबस्था मिलाएको छ त्यसबाटै दैनिक ५ लाख भन्दा बढी कमाउँछ तर एक सुको सहयोग गरेको छैन उनले भने । सहयोगका लागि कयौंपटक गरेको आग्रह खेर गएको उनको भनाइ छ ।