गरिबीका कारण आत्महत्या

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते ६:०६ मा प्रकाशित

su sideचितवन, १४ वैशाख –  पश्चिम चितवनको शिवनगरका एक वृद्धले गरिबीका कारण आत्महत्या गरेका छन् । शिवनगर–५ निवासी ६६ वर्षका सुकबहादुर दर्जीले गरिबीका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ ।

उनी बिरामी रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण पीडा थेग्न नसकि आत्महत्या गरेको बताइएको छ । उनका दुई छोरा भने अलग्गै बस्दै आएका छन् । श्रीमतीको पहिले नै मृत्यु भइसकेको बताइएको छ । स्थानीयका अनुसार उनी सधैँ मदिरा सेवन गर्ने गर्थे ।

श्रीमतीको मृत्यु पछि एक्लो जीवन बिताइरहेका दर्जीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । प्रारम्भिक चरणमा गरिबी कारण देखिए पनि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि पनि चितवनको माडीमा गरिबीका कारण आफ्नो सन्तानलाई दसैँमा मासु खुवाउन नसक्दा १२ सन्तानका बुबा धनबहादुर परियारले आत्महत्या गरेका थिए । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us