
काठमाण्डु, १३ वैशाख– नेपाल विश्व सहयोग संघले यूएईमा मृत्युदण्ड सुनाइएका दार्चुलाका अमरबहादुर बमको जीवन रक्षाका लागि सरकारसंग सहयोगको अपिल गरेको छ ।
रिपोर्टर्स क्लबमा शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल विश्व सहयोग संघले मृत्युदण्डको सजाय सुनाइएका बमको जीवन रक्षाका लागि सरकार लगायत सवै सरोकारवालासंग सहयोगको लागि अपिल गरेको छ । ज्यान मारेको अभियोगमा मृत्यु दण्डको सजाय सुनाइएका बम ११ वर्षदेखि दुबईको जेलमा छन् ।
पत्रकार सम्मेलनमा संघका ग्लोवल च्याप्टर अध्यक्ष मणि नेपाली पनेरुले प्रवासमा नेपालीहरुले ठूलो समस्या भोग्नुपरेको भन्दै सबै पक्षले सहयोग गर्न सके थोरै भए पनि प्रवासमा बस्ने नेपालीहरुले राहत महसुस गर्ने बताए । उनले बेरोजगारीका कारण धेरै नेपालीहरु विदेशिन बाध्य भएका र शिक्षाको अभावमा गम्भिर समस्यामा समेत रहेका बताउादै त्यस्ता समस्यामा रहेकाहरुलाइ उद्धार गर्नु आफूहरुको दायित्वसमेत रहेको बताए ।
पनेरुले दुवइमा मृत्युदण्ड सुनाइएका अमर बहादुर बम निर्दोष रहेको बताउादै उनलाइ बचाउन नेपाल सरकारले ढिलाइसमेत गरेको गुनासो गरे । उनले भने–यदि नेपाल सरकारका प्रधानमन्त्री, पराष्ट्रमन्त्री लगायतले पहल कदमी गर्ने हो भने अमर बहादुर बम सकुशल स्वदेश फिर्ता हुन सक्ने पनि बताए ।
त्यस्तै संघका नेपाल च्याप्टर अध्यक्ष दयाराम पाण्डले चााडै नेपाल सरकारले पहलकदमी गरी उच्चस्तरीय भ्रमण गरे बम सकुशल नेपाल फिर्ता हुन सक्ने बताउँदै अमरबहादुर बमको जीवन रक्षाको लागि आफ्नो संस्थाले निरन्तर अभियान चलाएको बताए । उनले भने–हामीले प्रधानमन्त्री सुशील कोईरालालाइ पनि भेट्यौ, उहाँले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
यो अत्यन्तै सकारात्मक छ । तर ढिलाइ गरिदिनुभएन । उनले अमर बहादुर बमले जुन किसिमको सजाय पाएका छन्, त्यसमा उनको कुनै गल्ती नभएको बरु उनको भाषागत कमजोरीको कारण जेल परेको पनि बताएका छन् ।
पण्डेले सवै नेपाली दाजुभाइहरुले आ–आफ्नो ठाउँबाट सहयोग गरे उनलाइ ब्लड मनी मार्फत बचाउन सकिने बताए, तर यसमा सबैभन्दा ठूलो भूमिका भने सरकारको नै रहेको पनि बताए । पीडितलाइ मनाउन सकियो भने ब्लड मनीका लागि लाग्ने रकम तिरेर बमलाइ नेपाल ल्याउन सकिने पनि उनले जानकारी दिए । यस अघि पनि यही संस्थाको पहलमा अनिश खालिङ राइलाइ पनि ब्लड मनी मार्फत नेपाल झिकाउने काममा सहयोग गरेको बताए । उनले भने– अब अनिश खालिङ नेपाल आउने करिब करिब पक्का भएको छ ।