काभ्रे, १३ वैशाख– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालिन मुद्धा उचालेर आफ्ना नेता कार्यकर्तालाई जेल हाल्न खोजिए कसैलाई नछाड्ने चेतावनी दिएका
छन् ।
नेकपा– माओवादी काभ्रेको तेश्रो जिल्ला सम्मेलनको शनिबार बनेपामा उदघाटन गर्दै वैद्यले एक पक्षीय रुपमा द्वन्द्वकालका घटना उचालिए जनयुद्धकालिन जनसत्ता र जनअदालत ब्युँताउने चेतावनी दिए ।
एक पक्षीय रुपमा माओवादी नेता कार्यकर्तामाथि मात्र मुद्धा चलाउने क्रम नरोकिए जनसत्ता र जनअदालत ब्युँताएर काँग्रेस–एमालेभित्रका ‘अपराधी’ लाई कठघरामा उभ्याउने उनको भनाइ थियो ।
‘काँग्रेस–एमालेले माओवादी कार्यकर्तालाई जेल हालेर सुखसँग बसौंला भन्ने ठानेका होलान’, वैद्यले भने, ‘एक एक अपराधी खोजेर सबैलाई कठघरामा उभ्याउँछौं ।’ वैद्यले माओवादी आन्दोलन र १० वर्षे जनयुद्धका उपलब्धी समाप्त पार्ने ‘डिजाइन’ अन्तर्गत केही दलले त्यस्ता मुद्धा उचालेको वैद्यको भनाइ थियो ।
‘द्वन्द्वकालका मुद्धा उचालेर माओवादीलाई फसाउने षड्यन्त्र थालिएको छ’, वैद्यले भने, ‘यस्तै हो भने हामी पनि जनसत्ता र जनअदालत ब्युताउँछौं ।’ राज्य पक्षबाट भएका अपराध लुकाउन सरकारले एक पक्षीय रुपमा मुद्धा चलाउन थालेको आरोप वैद्यले लगाए ।
उनले आफूहरुको सहमतिबिना सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविनसम्बन्धी आयोगको मस्यौदा ल्याएको भन्दै त्यसलाई स्विकार गर्न नसकिने स्पष्ट गरे ।