विराटनगर, १३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब निर्माण हुने सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई
पनि उन्मुक्ति दिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले जघन्य अपराधका दोषीलाई कानुनअनुसार कारबाही गर्नका लागि राप्रपाले संसद्मा मेलमिलाप आयोगको संशोधन प्रस्ताव ल्याएको स्पष्ट गरे ।
अध्यक्ष थापाले नयाँ बन्ने संविधानमा सबै राजनीतिक दलको भावना र एजेन्डालाई समावेश गर्नुपर्ने अन्यथा संविधान जारी भएको भोलिपल्टदेखि विरोध हुने र त्यसबाट गम्भीर अवस्था उत्पन्न हुने धारणा राखे ।
उनले काँग्रेस, एमाले र एकीकृत माआवोदीले निषेधको राजनीति गरेकाले आफ्नो पार्टीलाई संविधानसभा समितिको सभापति पद नदिएको आरोप लगाए ।
अध्यक्ष थापाले कार्यकर्ताको चाहनाअनुसार आगामी केन्द्रीय अधिवेशनबाट पार्टीको नाम परिवर्तन हुन सक्ने सम्भावना रहेको बताए ।