कम्युनिष्टहरुले वर्ग संघर्ष छाड्नुपर्छ: गौतम

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कम्युनिष्ट पार्टीहरु वर्ग संघर्ष त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् ।
bamdev
पोखरा हार्डवयर एशोसियशनको भवन उद्घाटन गर्दै गौतमले कम्युनिष्टहरु वर्ग संघर्ष छाडेर विकास निर्माण तथा उत्पादनको काममा लाग्नुपर्ने बताएका हुन् ।

‘कम्युनिष्टहरुले अब वर्ग संघर्ष भन्ने कुरा छाड्नु पर्छ र कार्यकर्तालाई विकास निर्माण तथा उत्पादनका काममा लगाउनु पर्छ’, एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने । उनले उद्योगी व्यवसायीसँग चन्दा मागेर पार्टी चलाउन बन्द गर्नुपर्ने पनि बताए ।

कम्युनिष्ट पार्टीहरुले कार्यकर्तालाई निर्माण र उत्पादनका काममा लगाउन सके व्यापारीसँग चन्दा मागेर पार्टी चलाउनुपर्ने अवस्था अन्त्य हुने भनाइ उनको थियो । गौतमले सरकार एक वर्षभित्र शान्तिप्रक्रिया र संविधान लेखनका काम पूरा गर्ने गरी अघि बढेको दाबी गौतमले गरे ।

स्थानीय निकायको अभावमा राजनीतिक उपलब्धी जनतासमक्ष पुर्‍याउन नसकिएको भन्दै उनले स्थानीय निकायको निर्वाचनका लागि दलहरुबीच छलफल भइरहेको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us