
काठमाण्डु, १३ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदका लागि घुर्की र बार्गेनिङ गर्नेहरुलाई पार्टी छाडेर जान चुनौती दिएका छन् ।
पार्टीको काठमाण्डु जिल्ला अधिवेशनको शनिबार कपनमा उदघाटन गर्दै उनले कसैले घुर्की लगाउनेहरु अर्कै पार्टीमा गए पनि फरक नपर्ने बताएका हुन् । आफूहरुलाई ठूलो पार्टी नभई क्रान्तिकारी पार्टी चाहिएको उनको भनाइ थियो ।
‘स्थायी समिति, पोलिट्ब्युरो, केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज नपाएको झोकमा ज–जसले पार्टी छाड्छन् छाडुन्’, उनले भने, ‘काम नलाग्ने ठूलो होइन, क्रान्तिकारी पार्टी चाहिएको छ ।’ प्रचण्डले ३५ जनाको केन्द्रीय समिति हुँदा संविधानसभामा सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको पार्टी २६९ जनाको केन्द्रीय समिति हुँदा तेश्रोमा खुम्चिएको स्मरण गरे ।
प्रचण्डले पार्टीभित्र पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढेको भन्दै त्यो नसच्चिए पार्टी विघटन हुने खतरा औंल्याए । पार्टीलाई विघटनबाट जोगाउन नेतादेखि कार्यकर्तासम्म रुपान्तरण हुनुपर्ने भनाइ उनको थियो ।
उनले पार्टी रुपान्तरणका लागि गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिए । हेटौंडा महाधिवेशनको कार्यदिशा कार्यान्यवन गर्न नसक्दा पार्टी समस्यामा फसेको भन्दै उनले आसन्न महाधिवेशनले त्यसलाई परिमार्जन गर्ने बताए ।
अर्का नेता बाबुराम भट्टराईले नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्न नयाँ शक्तिको खाँचो रहेको औंल्याए । भट्टराईले कार्यदिशा राम्रो हुँदैमा पार्टी विघटनको खतरा नटर्ने भन्दै कार्यशैली फेरिनुपर्ने बताए ।
अर्का नेता नारायणकाजी श्रेष्ठेले वर्गीय र राष्ट्रियताको मुद्धा छोडेकाले पार्टीले धक्का खाएको बताए ।