चितवन, १३ वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले मुख्य दलका नेताले संविधानसभालाई बन्धक बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
पृथ्वीनारायण शाह प्रतिष्ठानले शनिबार चितवनको नारायणगढमा गरेको अभिनन्दन कार्यक्रममा उनले संविधानसभामा मुख्य दलका नेताको निर्णयमात्र लागू हुने गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले घुमाउरो पारामा ठूला दलले सानालाई विभेद गरेको बताए ।
‘जनताबाट निर्वाचित प्रतिनिधिमुलक थलोमा कसैको हैकम चल्नु राम्रो होइन’, साहले भने, ‘संविधानसभाले कसैप्रति विभेद र खेदको दृष्टि नराखी सबैका विचार मान्यता र आस्था समेट्न सक्नुपर्छ ।’ ज्ञानेन्द्रको अभिव्यक्ति संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापासँग मिल्दोजुल्दो थियो । उनले जनताले आफूकहाँ आएर जनताले दलहरुका गतिविधिप्रति असन्तोष जनाउने गरेको उल्लेख गरे ।