
भद्रपुर, १३ वैशाख–एकीकृत नेकपा (माओवादी) का नेता वर्षमान पुनले द्वन्द्वकालका घटनालाई निरुपण गर्न र गम्भीर प्रकृतिका मुद्दामा छलफल गरी दोषीलाई कारबाही गर्न अलग्गै कानुन बनाउनुपर्ने बताएका छन् ।
एकीकृत नेकपा (माओवादी) झापाको दोस्रो जिल्ला सम्मेलनको शुक्रबार विर्तामोडमा उद्घाटन गर्दै उनले द्वन्द्वकालका सबै घटनामा मुद्दा चलाउन नहुनेमा जोड दिए ।
सोही दलका नेता गोपाल किरातीले एमाओवादीको हेटौंडा महाधिवेशनमा भएको कार्यदिशा पूरा गर्न बृहत् केन्द्रीय समिति गठन गरेरमात्र नभई चुस्त, दुरुस्त र सानो समिति पारेर सम्मेलन सफल पार्न आग्रह गर्नुभयो ।
एमाओवादी झापाका जिल्ला इन्चार्ज धर्मशीला चापागाईंको अध्यक्षतामा भएको उक्त सम्मेलनमा झलकसिंह दर्लामी, गणेश नेपाली र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
दुई दिने उक्त सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी ४ सय जना सहभागी भएका छन् । सम्मेलनले निर्वाचन प्रक्रियाबाट जिल्ला समिति गठन गर्ने जनाइएको छ । रासस