काठमाण्डु, १३ वैशाख– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी एक वर्षभित्रै नयाँ संविधान बन्ने दोहोर्याएका छन् ।
संविधानसभा अन्तर्गत विभिन्न पाँचवटा समितिका सभापतिलाई शनिबार सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले एक वर्षभित्रै संविधान बन्दै सम्भावना बढेको बताए ।
अघिल्लो संविधानसभाले गरेका कामको वर्तमान संविधानसभाले स्वामित्व लिएर अघि बढ्नुपर्ने भनाइ उनको थियो । विघटित संविधानसभाले धैरै उपलब्धीमुलक काम गरे पनि संविधान दिन नसकेका कारण जनतामा निराशा छाएको भन्दै उनले यसपटक त्यस्तो नहुने उल्लेख गरे ।
संविधानसभाले शुक्रबार संवैधानिक राजनीतिक संवाद सहमतिमा एकीकृत माओवादी नेता बाबुराम भट्टराई, संविधान मस्यौदा समितिमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, संविधान अभिलेख तथा निक्र्यौल समितिमा एमाले सचिव विष्णु पौडेल, क्षमता अभिवृद्धि समितिमा मधेसी दलका तर्फबाट लक्ष्मीकुमारी चौधरी र नागरिक सम्बन्ध समितिमा साना दलका तर्फबाट नेकपा संयुक्तकी प्रमिला राणा निर्विरोध निर्वाचित गरेको थियो ।