गाउँले आक्रमणमा घाइते प्रहरी नायव निरीक्षकको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते ८:१६ मा प्रकाशित

तनहुँ, १३ वैशाख – तनहुँको दुलेगौडामा स्थानीयको आक्रमणबाट घाइते जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक भवानीप्रसाद धमलाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
स्वास्थ्य गम्भीर भएपछि उनलाई  थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ ।

स्थानीयको ढुंगा लागेर उनको टाउकोमा ठूलो चोट लागेको छ । उनको टाउकामा ३० टाँका लगाइएको मणिपाल अस्पतालले जनाएको छ । दुर्घटनामा एकै परिवारका दाजुभाईको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीय र मृतकका आफन्त प्रहरीमाथि जाग्लाग्दा धमलासहित नौ जना घाइते भएका थिए ।

यसअघि उनको दुलेगौडा पोलिक्लिनकमा उपचार गरिएको थियो । घाइते अन्यको दुलेगौंडामै उपचार भइरहेको छ ।

दुई दिनअघि स्काभेटरको ठक्करबाट २६ वर्षीय राजन रुचाल र २२ वर्षीय मिलन रुचालको मृत्यु भएपछि मृतकका परिवार र स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us