जनकपुर, १३ वैशाख– साधुको भेषमा लागुऔषध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा यज्ञभूमि–८ धारापानी बलुवा क्वार्टर टोलका ७० वर्षीय भोला आलेमगरलाई ३० किलो गााजासहित पक्राउ गरिएको हो ।
उनले धनुषा, महोत्तरी र सिरहालगायत जिल्लामा लागुऔषध कारोबार गर्दै आएका थिए । विगत १० वर्षदेखि लागुऔषधको कारोबार गर्दै आएका मगरले आफ्नै घरमा लागुऔषधको प्याकिङ गर्ने गरेको समेत खुलासा भएको छ ।
अञ्चल प्रहरी कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेले अञ्चलभरि नै लागुऔषधविरुद्ध प्रहरीको अभियान सञ्चालन गरिएको बताए ।
उनका अनुसार धनुषा, महोत्तरी र सर्लाही जिल्लाबाट ९३ जनालाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको छ ।
सोमध्ये धनुषाका ३९, सर्लाहीका १७ र महोत्तरीका ३७ जना लागुऔषध कारोबारमा संलग्न रहेका छन् । रासस