काठमाण्डु, १३ वैशाख – सुदूरपश्चिममा सडक दुर्घटनाबाट बर्षेनी औसतमा एक सय जनाको मृत्यु हुने गरेको छ ।
सवारी दुर्घटनाको बिगत चार बर्षको तथ्याङ्क हेर्दा पछिल्ला बर्षहरुमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
असुरक्षित सडक, चालकहरुले मदिरा सेवन गरी सवारी चलाउने, यातायातका साधानहरुमा क्षमता भन्दा वढी यात्रुहरु वोक्ने, तिव्र गतिमा सवारी हाक्ने जस्ता कारणहरुले सवारी दुर्घटनामा बृद्धि हुँदै गएको हो ।
तिव्र गति नियन्त्रण गर्न डडेल्धुराको स्याउले देखि कैलालीको अत्तरीयासम्म सुरु गरिएको टाईमकार्ड पनि यातायात, प्रहरी र सवारी चालकहरुको मिलेमोतोमा फितलो भएपछि तिव्र गति नियन्त्रण गर्ने अर्को कुनै उपाय देखिएको छैन ।
विभिन्न कारणले बर्षेनी सवारी दुर्घटना हुने र दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या ठुलो रहेको सुदूरपश्चिम बस ब्यबसायी समिति दिपायलका कृष्ण बमले बताए । बिगत चार बर्षको आँकडा हेर्दा बर्षेनी तीन सयको संख्यामा गम्भिर तथा समान्य घाईते हुने र औषतमा एक सय जनाको मृत्यु हुने गरेको छ ।
बिगत ४ बर्ष यता भएका साना ठुला सवारी दुर्घटनाबाट चार सय ३१ जनाको मृत्यु भईसकेको छ भने ५ सय ७८ जना गम्भिर घाईते भएका छन् । यस्तै सामान्य घाईते हुनेहरुको संख्या पनि ७ सय ४९ रहेको छ ।