
काठमाण्डु, १३ वैशाख – कास्कीको सिल्दूजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ्गमा पहिरो जाँदा थुनिएका १३ जना मजदूरलाई झण्डै १४ घण्टापछि, सकुशल उद्धार गरिएको छ ।
हिजो दिउँसो १ बजे सुरुङ्गको मुखमा पहिरो जाँदा थुनिएका एक चिनियाँ सहित १३ जना मजदूरलाई बिहान ३ बजेर ३५ मिनेटमा सकुशल उद्धार गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।
लामो समय सुरुङ्गभित्र थुनिँदा आत्तिएका र थाकेका सबै कामदारलाई आवश्यक उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक बास्तोलाले जानकारी दिए ।
सुरुङ्गको मुखमा पहिरो गएर थुनिएपछि, भित्र रहेका कामदारलाई हावा र पानी पठाएर सहयोग गरिएको थियो ।
उद्धारकार्यमा ५ वटा एक्साभेटर, प्रहरी र सयौं स्थानीय बासिन्दाले सहयोग गरेका थिए ।
यसैबीच, पहिरो गएदेखि सम्पर्क विहीन भएका अन्य ३ जना नेपाली कामदारको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन । उनीहरुको खोजीकार्य चलिरहेको प्रहरीले जनाएको छ ।