काठमाण्डु, १२ वैशाख – सरकारले तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने भएको छ । सरकारले पहिलो पटक तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारकै शैक्षिक प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको चौथो पञ्च वर्षिय राष्ट्रिय कार्ययोजनामा तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने उल्लेख गरिएको छ ।
यस्तै कार्ययोजना मार्फत सरकारले तेश्रोलिंगीका नाममा नागरिकता तथा राहदानी प्रदान गर्ने र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरुद्ध समाजमा रहेको भ्रम र अविश्वास हटाउने घोषणा गरेको छ । यसका लागि सरकारले महिला, बालबालिका तथा समाज कल्याण, शिक्षा मन्त्रालयलाई जिम्मेवार निकायको रुपमा र गृह, परराष्ट्र, शिक्षा मन्त्रालय र गैरसरकारी संस्थालाई सहयोगी निकायको रुपमा राखेको छ । यसका लागि निरन्तर काम गर्ने सरकारको प्रतिवद्धता छ ।