सेनालाई व्यावसायिक बनाउन दरिलो नीति ल्याइनेछ – प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते १०:०० मा प्रकाशित

sushil koiralaकाठमाण्डु,  १२ वैशाख –  प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चुनौतीहरुलाई सामना गरी देश र जनताको सुरक्षा गर्न सक्षम व्यावसायिक सेना बनाउन दरिलो  नीति बनाएर कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली सेनाको नगरकोटमा अवस्थित सैनिक शिक्षालयमा पहिलो हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिमको आज शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण गरी सक्षम, दक्ष र कार्यकु शल व्यावसायिक सुरक्षा अङ्ग बनाउन सरकार सकारात्मक रहेको छ  भने ।
भविष्यमा आउन सक्ने आन्तरिक र बाह्य सुरक्षा चुनौतीलाई पहिचान गरी तिनलाई न्यायोचित र व्यावहारिक रुपमा विश्लेषण गरी बुद्धिमत्तापूर्वक सही निर्णय लिन सक्ने योग्य र सक्षम उच्चतहका अधिकृत उत्पादनमा यस तालिमले ठूलो टेवा पुर्याउने कुरामा म विश्वस्त छु, उनले भने ।

नेपाली सेना मुुलुकको संविधानप्रति बफादार रही नेपाल सरकारकोे नीति निर्देशनले सुम्पिएका जिम्मेवारीहरु पूरा गर्न सक्षम अराजनीतिक चरित्रयुक्त व्यावसायिक र विश्वासिलो सुरक्षा अङ्गका रुपमा स्थापित भएको उनले बताए ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री कोइरालाले नेपाली सेनाले सुरक्षासहित राष्ट्रले सुम्पिएका विकास निर्माण र प्राकृतिक प्रकोप लगायतका जिम्मेवारीहरु उत्कृष्ट रुपमा सम्पादन गरी आफूलाई सबल एवम् सक्षम संस्थाका रुपमा प्रमाणित गरेको चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us