शून्य समयः बर्डफ्लुपीडितदेखि चिया बगानसम्मका माग

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ९:३८ मा प्रकाशित

Biccकाठमाण्डु,  १२ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा अधिकांश सभासद्ले संविधान लेखनलाई प्राथमिकतामा राख्ने तथा अग्निपीडितलाई राहत उपलब्ध गराउने लगायत राष्ट्रिय तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले थारू समुदायलाई मधेसी  नभई आदिवासी जनजातिको सूचीमा राख्न,  अघिल्लो वर्षायाममा आएको बाढीबाट पीडित दार्चुलाका जनतालाई राहत उपलब्ध गराउन तथा कञ्चनपुरका आरक्षण प्रभावित, सुकुम्बासी र हलियालाई उचितस्थानमा पुनर्वासको व्यवस्था गर्न माग गरे ।

नेपालगन्ज नगरपालिका क्षेत्रभित्र ढलनिकास व्यवस्थित गरिनुपर्ने, आदिवासीलाई दिइने छात्रृवृत्ति कोटामा इन्जिनियरिङ र चिकित्सा विषयसमेत समावेश गरिनुपर्ने तथा शून्य समयमा बोलिएका कुरालाई धेरै महत्व नदिइएकाले यो समय संविधान लेखनका लागि लगाउनेतर्फ ध्यान दिनुपर्नेजस्ता समसामयिक विषयमा सभासद्ले संसद्को ध्यानाकर्षण गराए ।

चुरे  क्षेत्रआसपास बसेका बासिन्दालाई अन्यन्त्र पुनर्वासको व्यवस्था मिलाउन, मतदाता परिचयपत्रसँगै नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्न, निर्यात प्रवद्र्धन ऐन तत्काल ल्याउन, अग्निपीडितलाई आवश्यक राहत तत्काल उपलब्ध गराउन, बर्डफ्लुबाट मारमा परेका  कुखुरा व्यवसायीलाई वैकल्पिक व्यवसायको व्यवस्था मिलाउन तथा पूर्वमा चिया बगानमा देखिएको समस्यालाई सुल्झाउनसमेत सभासद्ले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा बलवीरप्रसाद चौधरी, बहादुरसिँह तामाङ, बादशाह कुर्मी, डा बाबुराम पोखरेल, वीरेन्द्रप्रसाद महतो, डा वंशीधर मिश्र, वृजेशकुमार गुप्ता, भरतकुमार शाह, मनकुमार गौतम, महिन लिम्बू, मीना पुनलगायत ३६  सभासद्ले  बोलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us