सगरमाथाको हिमपहिरोबाट भएको क्षतिबारे सदनलाई जानकारी

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ८:०० मा प्रकाशित

काठमाण्डु,  १२ वैशाख –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले गत हप्ता सगरमाथामा गएको हिमपहिरोबाट भएको धनजनको क्षतिबारे व्यवस्थापिका–संसद्लाई जानकारी गराएका छन् ।

व्यवस्थापिका–संसद्को बैठकको प्रारम्भमै समय लिएर सभासद् आङ्दावा शेर्पाले त्यससम्बन्धी विषयमा संसद्को ध्यानाकर्षण गराएपछि मन्त्री आचार्यले संसद्लाई सो घटनाका बारेमा विस्तृत रुपमा जानकारी गराएका हुन् ।

सगरमाथाको आधार शिविरबाट एक सय मिटरमाथि यही वैशाख ५ गते बिहान गएको हिमपहिरोमा परी १२ जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भइरहेको मन्त्री आचार्यले जानकारी दिए ।

सो घटना भएको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि सरकारी संयन्त्रलाई परिचालन गरिएको बताउँदै उनले  घटनामा घाइते भएका छ जनालाई उपचार गरिएको जानकारी गराए ।

सो घटनामा परी मृत्यु भएकाहरुको चिर शान्तिको कामना गर्दै सरकारका तर्फबाट मन्त्रालयमा शोकसभाको आयोजना गरिएको जानकारी दिँदै उनले प्रतिमृतकका परिवारलाई सरकारको तर्फबाट  पाँच लाख र बिमाबापत  १० लाख प्रदान गर्ने तयारी भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us