काठमाण्डु – पनौती सडक अवरुद्ध

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ५:२१ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख – कुटपिटबाट एक युवकको मृत्युभएपछि पीडितका आफन्तले काठमाण्डु–पनौती सडकखण्ड आज अवरुद्ध गरेका छन् ।
आज बिहानैदेखि बन्द भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सडकखण्ड अवरुद्ध भएपछि पनौती काठमाडौँ सडकखण्डबाट चल्ने कुनै सवारीसाधन चल्न सकेको छैन ।

सवारीसाधनमा भएको सामान्य विवादले उग्ररुप लिएपछि कुटपिट गर्दा गम्भीर घाइते भएका पनौती– ६ बस्ने श्याम नापितको उपचारको क्रममा आज मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनलाई कुटपिट गर्ने ढुङ्खर्क गाविस–८ बस्ने अजय केसीलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

गएराति भएको विवादका कारण केसीले नापितलाई मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको र उनलाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाडौँ पठाइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us