
बेलौरी (कञ्चनपुर), १२ वैशाख – भारतबाट फर्किने नेपालीलाई बेहोस हुने औषधि खुवाएर लुटपाट गर्दै आएको गिरोहका तीन जना कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालयले मान्छे बेहोस हुने औषधि खुवाएर लुटपाट गर्दै आएको गिरोहका तीन जनालाई लुटेको रकम र औषधिसहित पक्राउ गरेका हो । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्करबहादुर चन्दले लुटपाट गिरोहमा आबद्ध बाजुराको कोल्टी गाविस–६ कुरुका २६ वर्षीय कमल रोकाया, कैलालीको साढेपानी–८ का ३४ वर्षीय नदीराम पाण्डेय र धादिङको बेसरी–४ भैंसेका ३६ वर्षीय गणेशबहादुर गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुले भारतीय सहर टनकपुरस्थित बसपार्कमा कालीकोटको नैनीकोट–३ का काशी बोहरा र रामबहादुर बोहरालाई लोराजीपाम नामक औषधि खुवाएर नगद र सरसामान लुटेका थिए । पक्राउ परेकाबाट प्रहरीले ३८ ट्याब्लेट लोराजीपाम र आठ हजार ७०६ भारतीय रुपैयाँ, लुगा कपडासहित दुई वटा कम्ब्याट झोला बरामद गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।