शौचालय बनाउन पनि अभियान !

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ४:५२ मा प्रकाशित

नवलपरासी, १२ वैशाख – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तराई मधेस केन्द्रित विशेष सरसफाइ अभियान सुरु गरेको छ ।  पहाडी र भित्री मधेसका गाविसमा खुला दिसामुक्त अभियानले तीव्रगतिका साथ धमाधम खुला दिसामुक्त घोषणा भए पनि सोअनुरुप तराई मधेसमा गति लिन नसकेपछि सो कार्यालयले विशेष अभियान सुरु गरेको हो ।

तराई–मधेसका गाविसलाई नै लक्षित गरी सबै गाउँमा सामाजिक परिचालन गर्नका लागि दुई चरणमा ४९ जना परिचालकलाई विशेष अभियान प्रशिक्षण दिइएको कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए । वैशाख ३ गतेदेखि ७ सम्म २५ जना र ९ गतेदेखि ११ गतेसम्म २४ गरी४९ जना परिचालकलाई अभियानबारे प्रशिक्षित गरी गाउँ पठाइएको छ । उनीहरुले  वडा, गाउँ, टोल हुदैँ घरघरमा पुगेर शौचालयबारे सर्वेक्षण गर्ने, शौचालय बनाउन उत्प्रेरित गर्ने, आवश्यक प्रक्रिया सिकाउने, मिस्त्री, सामग्री आदिको व्यवस्थापनमा सघाउनेलगायतका काम गर्नेछन्  ।

जिल्लाको एक नगरपालिका र ७३ गाविसमध्ये तराई–मधेस क्षेत्रमा ३६ गाविस र रामग्राम नगरपालिका रहेका छन् भने पहाडी १७ र २० भित्री मधेसका गाविस रहेका छन् । हालसम्म ३८ गाविस र नगरपालिकाका एउटा वडामात्र खुला दिसामुक्त घोषणा हुन सकेको छ । जसमा तराई मधेस क्षेत्रका गाविसमध्ये सात वटा गाविस र नगरपालिकाका–३ नं वडामात्र खुला दिसामुक्त घोषणा गर्न सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us