राजनीतिक संवाद तथा सहमति समितिको चुनाव आज

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते २:५४ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख – संविधानसभाका पाँच समिति मध्ये आज संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको चुनाव हुने भएको छ ।

बेलुकी पाँच बजे समितिको सभाकक्षमानै चुनाव हुने संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।

समितिको सभापतिका लागि नेपाली काँग्रेस, नेकपा एमाले र अरु केही साना दलको समर्थनमा एकीकृत माओवादी नेता बाबुराम भट्टराईको उम्मेदवारी परेको छ । त्यस्तै खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले पनि उम्मेदवारी दर्ता गराएकोले चुनाव हुन लागेको हो ।

तर बेलुकीसम्म समितिमा सर्वसम्मति गराएर सकारात्मक सन्देश दिन राईलाई चुनावमा जान नदिने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् ।

संविधान मस्यौदा समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा एमालेका विष्णु पौडेल र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेशी जनअधिकार फोरम नेपालकी लक्ष्मी चौधरी तथा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सभापतिमा नेकपा संयुक्तकी प्रमिला राणा निर्विरोध निर्वाचित भएका छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us