आन्दोलनमा उत्रने अस्थायी शिक्षकको चेतावनी

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ९:११ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले आफ्नो माग पुरा नगरे आन्दोलनमा उत्रने घोषणा गरेको छ ।
रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अस्थायी र करार शिक्षकहरुलाइ आन्तरिक पक्रियाद्धारा स्थायी नगरी चरम विभेद र अन्यायपूर्ण एवम षड्यन्त्रपूर्वक ढंगले विस्थापन गर्ने मनाशाय राखेकोमा घोर आपत्ति जनाउँदै कडा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले अस्थायी शिक्षकहरुका जायज मागहरुलाइ बेवास्ता गरेमा र २०६३ पछाडिका शिक्षकहरुलाइ विस्थापन गर्ने ध्येय राखेर अगाडी बढेमा भोलिका दिनहरुमा आम शैक्षिक हड्ताल लगायतका विरोधका कार्यक्रमहरुमा उत्रन आफूहरु बाध्य हुने चेतावनी दिँदै भने–हामी २०७०।०६।१३ को शिक्षा मन्त्रालयसंग भएको सम्झौता अविलम्ब कार्यन्वयन गर्न र मौजुदा ऐन–नियामावली संशोधन गरी शिक्षकहरुको व्यवस्थापन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।
उनले अस्थायी शिक्षकहरु, शिक्षा मन्त्रालय र शिक्षकका पेशागत संङ्गठनहरुबीच भएको सम्झौता अविलम्ब लागु गर्नुपर्ने, कार्यरत सम्पूर्ण अस्थायी तथा करार शिक्षकहरुलाइ आन्तरिक प्रक्रियाद्धारा स्थायी गुर्नुपर्ने, पेशाबाट विस्थापित नगर्नुपर्ने र संवैधानिक शिक्षक सेवा आयोग गठन गर्नुपर्ने जस्ता चार सुत्रीय मागहरु राखि अविलम्ब सुनुवाइ गरी कार्यान्वयन गर्न सरोकारवालाहरुलाइ अनुरोध गरेका छन् ।
अधिकारीले अस्थायी शिक्षकहरुको मागलाइ तत्काल सम्वोधन नगरे आफुहरु जस्तोसुकै आन्दोलन गर्नपनि बाध्य हुने बताउँदै आफ्ना मागहरुको सुनुवाइका लागि २०७१ बैशाख २१ र २२ गते विहान १० बजे शान्तिबाटीमा भेला भइ सिहदरबारमा धर्ना दिने कार्यक्रम रहेको जानकारी समेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us