सोलुखुम्बु, ११ वैशाख – गएको शुक्रबार १३ जनाको ज्यान लिने गरी गएको हिमपहिरोपछि सगरमाथा आरोहण गर्ने वा नगर्ने भन्ने अन्योलमा रहेका सगरमाथा आरोहीलाई भेटघाट गर्न पर्यटन मन्त्री भीम आचार्यसहितको टोली सगरमाथाको आधारशिविर पुगेको छ ।
मन्त्री आचार्यसँगै पर्यटन सचिव, सहसचिवलगायत अन्य टे«किङ कम्पनीका अधिकारीहरु हेलिकप्टरमार्फत आज बिहान पौने ९ बजे सगरमाथा आधारशिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का महासचिव लामाकाजी शेर्पाले जानकारी दिए ।
घटनापछि सगरमाथा आरोहण नगर्ने बताइरहेका आरोहीहरुलाई सरकारले सगरमाथा आरोहण गर्न यसअघि नै सार्वजनिक अपिल गरिसकेको छ । आधारशिविरमा सम्पर्क अधिकृत, सरदार तथा आरोहण सहयोगीहरुको संयुक्त बैठकले राखेको मागपछि सरकारले मृतकका परिवारलाई राहत रकम वितरण गरिसकेको छ ।
आरोहीहरुको मागलाई ध्यानमा राख्दै सरकारले आरोही राहत कोष स्थापना गर्ने, आरोही स्मारक बनाउने तथा बिमा रकम वृद्धि गर्नेलगायतका निर्णयसमेत गरिसकेको छ । हिमपहिरोमा परी अभैm तीन जना बेपत्ता छन् ।