अन्तरिम समयका लागि स्थानीय निकायको निर्वाचन आवश्यक

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ७:५४ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – उपप्रधानमन्त्री प्रकाशमान सिंहले २०६२-०६३ को परिवर्तनलाई संस्थागत गर्न निर्धारित समयमै लिखित लोकतान्त्रिक संविधान जारी गरिनुपर्ने बताएका छन् ।
रत्नराज्य उच्च माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले दलहरुले प्रतिबद्धता जनाएअनुरुप आगामी माघ ८ गते लिखित लोकतान्त्रिक संविधान जारी गर्न सके मात्र लोकतन्त्र दिवसको सार्थकता हुने छ भने ।
“गएको संविधानसभाले गरेको गल्ती यस पटक दोहोरिँदैन, विगतका पाठ सिकेर अधिकतम सहमति गर्ने, त्यो नभए लोकतान्त्रिक प्रक्रियाबाट बहुमतका आधारमा संविधान गरिन्छ”, उपप्रधानमन्त्री सिंहले थपे ।

एघार वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुदाँ जनप्रतिनिधिको अभावमा विकास निर्माणका कार्यमा बाधा अड्चन भइरहेको उल्लेख गर्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले “एक वर्षमा संविधान बनाउँछौँ, त्यसपछि कानुन बनाउन समय लाग्ने भएकाले फेरि अर्को समय खेर जान्छ, त्यसैले अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन गराउने प्रक्रियामा सरकार लागिपरेको छ भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us