काठमाण्डु, ११ वैशाख – नेपाली काँग्रेसले संविधान मस्यौदा समितिको सभापतिमा महामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने भएको छ ।
बिहान बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी बैठकले सिटौलालाई समितिको सभापति बनाउने निर्णय गरेको हो । संविधान मस्यौदा समितिको सभापतिमा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले ईच्छा व्यक्त गरेपनि बैठकले सिटौलालाई सभापति बनाउने प्रस्ताव पारित गरेको हो ।
संविधानसभाका पाँच वटा समितिको सभापति चयनका लागि भोली चुनाव हुने भएको छ । संविधानसभा सचिवालयले भोली वेलुकी ५ बजे चुनाव हुने गरी चुनावी तालिका सार्वजनिक गरेको हो ।
त्यसका लागि आज बेलुकी ५ बजेसम्म प्रस्तावको सूचना दर्ता गर्न सकिने संविधानसभा सचिवालयले जनाएको छ । सर्वसम्मतिबाट सभापति छान्ने दलहरुको प्रयास असफल भएपछि चुनावको मिति तोकिएको हो । संविधानसभा कार्यतालिका अनुसार वैशाख १५ भित्र गठित ५ वटा समितिले आआफ्नो सभापति निर्वाचित गरिसक्नुपर्नेछ ।
प्रमुख तीन दलबीच संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्व एकीकृत माओवादी, संविधान मस्यौदा समिति कांग्रेस र संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको नेतृत्व एमालेले गर्ने अनौपचारिक सहमति भएको छ ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको नेतृत्व मधेस केन्द्रीत दल र साना दललाई दिने मुख्य तीन दलको योजना छ ।