बनेपा, १० वैशाख – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक दस्तावेज लेखेर आज दिउँसो काभ्रेबाट काठमाडौं फर्केका छन् । साङ्गठनिक तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर आज दिनभर लेखिएको सो दस्तावेज अन्तिम चरणमा पुगेको र त्यसलाई काठमाण्डु पुगेर पूर्णता दिइने अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहाल हिजो काभ्रेको नमोबुद्ध रिर्सोट गएका थिए । गोप्य स्थान छनोट गरेर राजनीतिक दस्तावेज लेख्दै आएका अध्यक्ष दाहालले यसअघि पनि दस्तावेज लेख्न धुलिखेल गएका थिए । आगामी वैशाख १८ गतेदेखि विराटनगरमा हुने राष्ट्रिय सम्मेलनका लागि उनीराजनीतिक दस्तावेज लेख्न काभ्रे पुगेका थिए ।