
खोटाङ, १० वैशाख – जङ्गलबाट सल्किएको डढेलोबाट जिल्लाको पश्चिमी गाविस डिकुवामा तीनवटा घर जलेको छ । डिकुवा–६ बाट सल्किएको डढेलोले डिकुवा–८ का भैरबहादुर मगर, मेघबहादुर मगर र दलबहादुर परियारको घर नष्ट गरेको हो ।
डढेलोबाट लागेको आगोबाट भैरबहादुरको पाँच तोला सुन, १९ हजार नगद, सात वटा बाख्रा र तीन वटा खसी, मेघबहादुरको सात वटा खसीबाख्रा, अन्न, मालसामान र दलबहादुरको घरमा भएका सबै सामान नष्ट भएको प्रहरी चौकी च्यास्मीटारले जनाएको छ ।
प्रहरीका अनुसार भैरबहादुरको साढे पाँच लाख, मेघबहादुरको साढे चार लाख र परियारको चार लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।