
काठमाण्डु, १० वैशाख – प्रमुख सत्तारुढ घटक नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल महाधिवेशनको विषयलाई लिएर विवादमा फसेको छ । केही केन्द्रीय सदस्यहरुले महाधिवेशन गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष उदयशमसेर राणालाई पदबाट हटाउने चेतावनी दिएका छन् ।
पार्टीको संस्थापन पक्ष सम्बद्ध तरुण दलका केही केन्द्रीय सदस्यहरुले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर अध्यक्ष राणालाई पदमुक्त गर्ने चेतावनी दिएका हुन् । तरुण दलका अध्यक्ष राणा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् । असन्तुष्ट केन्द्रीय सदस्यहरुले पार्टीले ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिएर अध्यक्ष बनाएपनि राणाले २४ महिना वित्दासम्म पनि महाधिवेशन गर्नतर्फ चासो नदेखाएको भन्दै नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरेका छन् ।
उनीहरुले जेठ मसान्तभित्र महाधिवेशन गर्ने गरी एकसाताभित्र मिति घोषणा नगरिए वा राजिनामा नदिए कार्यकर्ताहरुको भेला डाकेर पदमुक्त गर्ने चेतावनी दिए । राणा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् हुन् ।
सभासद्मा निर्वाचित भएपछि अध्यक्ष राणाले तरुण दललाई समय नदिएको असन्तुष्टहरुको आरोप छ । उनीहरुले अध्यक्ष राणाले संगठनका कतिपय जिल्लाहरुमा रहेको विवाद मिलाउन तथा केन्द्रीय समितिको बैठक बोलाउन बेवास्ता गरेको आरोप पनि लगाएका छन् ।