काठमाण्डु, १० वैशाख – सरकारले पटक पटक गाउगाउँमा नै पुगेर नागरिकता वितरण अभियान चलाएपनि अझै २० प्रतिशत नागरिक नागरिकताविहिन रहेको एक प्रतिवेदनले देखाएको छ ।
महिला, कानून र विकास मञ्च नामक एक गैरसरकारी संस्थाले आज काठमाण्डुमा एक कार्यक्रम गरी १६ वर्ष उमेर पुगेका २० प्रतिशत नागरिकसँग नागरिकता नरहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा उल्लेख गरिए अनुसार नागरिकता नभएकामध्ये १६ देखि २० वर्ष उमेरका सबैभन्दा धेरै छन् । नागरिकता नहुनेमध्ये १६ देखि २० वर्ष उमेर समूहका ३९ प्रतिशत छन् । महिला, कानून र विकास मञ्चले १२ जिल्लाका ३ हजार ३ सय १५ घरपरिवारको सर्वेक्षण गरेर सार्वजनिक गरेको प्रतिवेदनमा नागरिकता वितरणमा ठूलो लैंगिक विभेद रहेको पनि उल्लेख छ ।
मञ्चकी अध्यक्ष सपना प्रधानले नागरिकता लिनका गाविस र नगरपालिकाबाट लिनुपर्ने सिफारिस प्रक्रिया झन्झटिलो भएका कारण उमेर पुगेका धेरै नागरिक नागरिकताविहिन भएको बताइन ।