
काठमाण्डु, १० वैशाख – सत्तारुढ दल नेकपा एमालेमा महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको विषयलाई लिएर विवाद् चर्किरहेका बेला युवा नेताहरुको एक समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षको उम्मेद्वार घोषणा गरेको छ । युवा नेताहरुको समूहले काठमाण्डुको एक होटलमा कार्यक्रम गरी नवौं महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षको उम्मेद्वार बनाउने घोषणा गरेको हो ।
भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, प्रकाश ज्वाला, पशुपति चौलागाईं, गोकर्ण विष्ट, घनश्याम भुषाल, योगेश भट्टराई, ठाकुर गैरे, डा. वंशिधर मिश्र लगायतका नेताहरुले अप्ठेरो अवस्थामा खेलेको भूमिका र मूल्य मान्यताका हिसाबले वरिष्ठ नेता नेपाल अध्यक्षका लागि उपयुक्त उम्मेद्वार भएको बताएका हुन् ।
नेपाल निकट नेता भीम रावलले पार्टीका सामुन्ने रहेका चुनौती सामना गर्न नेपालजत्तिको सक्षम नेता अर्को नभएको बताए । वरिष्ठ नेता नेपालको समर्थनमा बोल्ने नेताहरुले अध्यक्षको होडमा रहेका पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीप्रति भने कटाक्ष गरेका थिए ।
युवा नेताहरुको समुहले आवश्यक पर्दा राज्यलाई दवाब दिन पार्टी पंक्ति र जनसमुदायको परिचालनमा खेलेको भूमिका एमाओवादीलाई हतियार विसाएर शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिका, पार्टीमा गरेको योगदान लगायतलाई नेतृत्व चयनको आधार बनाइनुपर्ने तीन पृष्ठ लामो भनाइ पनि सार्वजनिक गरेको छ ।
युवा नेताहरुले पार्टीका सदस्यहरुलाई म आफैं उत्पादन गरेर बाँच्छु, आफूले कमाएको हरेक पैशाको कानून बमोजिम कर बुझाउँछु भन्ने सपथ समेत खुवाउन आवश्यक रहेको भनाइ समेत सार्वजनिक गरेका छन् । एमालेको नवौं महाधिवेशन आगामी जेठ महिनाको अन्तिम साता काठमाडौमा हुँदै छ ।